जसपाका कार्यकारिणी सदस्यलाई नागरिकतासहित उपस्थित हुन आदेश


काठमाडौं : निर्वाचन आयोगको इजलासले जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन आदेश दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे सुनुवाइका लागि आयोगले बिहीबार यस्तो आदेश दिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाका कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकता र मतदाता परिचयपत्रसहित आफैँ आयोगमा उपस्थित हुन आदेश दिइएको छ ।

यही साउन ११ गते ११ बजे आयोगको इजलासमा उपस्थित हुन आदेश दिइएको हो । जसपा विवादको आधिकारिकता छिनोफानो गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठन भएको पाँच सदस्यीय इजलासले यस्तो आदेश दिएको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति र ३६ सदस्यीय संसदीय दल छ । दुवैमा उपेन्द्र यादव समूहको बहुमत छ। यसअघि संसदीय दलमा महन्थ ठाकुर पक्ष बलियो थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने क्रममा केही सांसदले ठाकुरलाई छाडेर यादवलाई समर्थन गरेका थिए ।

महन्थ ठाकुर समूहले पनि अन्तिम समयमा आएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो । आयोगले उपेन्द्र पक्षलाई नै दलको आधिकारिकता दिने प्रबल सम्भावना छ । यस अवस्थामा महन्थ ठाकुर पक्षसँग यादवसँगै मिलेर जाने वा नयाँ पार्टी खोल्ने दुई विकल्प देखिन्छ ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ