धनुषा क्षेत्र नम्बर १ र ४ मा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको आरोप लागेको छ । धाँधली गरी बाँडिएको सदस्यता खारेज हुनुपर्ने माग राखेर काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा धनुषाका पूर्व साँसद एवं पूर्व राष्ट्रपति डा. रामबरण यादवको छोरा चन्द्रमोहन यादव आमरण अनसन बसेका छन् । तर पार्टी नेतृत्वले माग पुरा गर्न चासो नदेखाउँदा उनको समर्थनमा जनकपुरस्थित पार्टी कार्यालयमा पनि धर्ना सुरु गरिएको छ । धर्नामा बसेकामध्ये नेता संजिव यादवसँग क्रियाशिल सदस्यता वितरणमा देखिएको विवादबारे गरिएको संक्षिप्त कुराकानी :
तपाईहरु आजबाट किन अनसन सुरु गर्नुभयो ?
– नेपाली काँग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा विपी कोइरालाले प्रतिवाद गरेको सिद्धान्तलाई मान्दैगर्दा हाम्रो दुर्भाग्य भन्नुपर्छ । धनुषा क्षेत्र नम्बर १ र ४ मा एकलौटी रुपले विधान र प्रक्रिया मिचेर क्रियाशिल सदस्यता बाँडिएको छ । त्यसको विरुद्धमा र पूर्वसाँसद चन्द्रमोहन यादव केन्द्रीय कार्यालयमा बसेको आमरण अनसनको समर्थनमा रिले अनसन सुरु गरेका छौं ।
क्रियाशिल सदस्यता जसलाई बाँडियो, त्यो त काँग्रेसकै मान्छे हो नी । अनि किन विवाद ?
– कसलाई सदस्यता दियो भन्ने कुरा ठूलो होइन् । प्रक्रिया पुरा गरी वितरण भएको छ कि छैन भन्ने महत्वपूर्ण कुरा हो । यहाँ त प्रक्रियालाई धज्जी उडाएको छ । जसलाई दिनुपर्ने हो, त्यसलाई बाइपास गरेर पार्टी कब्जा गर्ने हिसावले क्रियाशिल सदस्यता वितरण भएको छ । राजपा, फोरमबाट आएकाहरुलाई एकलौटी हिसाबले परिवारबाद नाताबाद गरेर वितरण गरेकाले हामी आन्दोलन गर्नुपरेको छ । २०३६ सालदेखि काँग्रेसमा लागेका प्रमेश्वर ठाकुर जस्ता नेतालाई समेत क्रियाशिल सदस्यता दिएनन् । यस्ता धेरै उदाहरण छन् । पार्टीमा सक्रिय रहेकालाई नदिई मण्डले प्रबृत्तिबाट अन्य पार्टीबाट भर्खर आएकाहरुलाई क्रियाशिल सदस्यता वितरण गरिएको छ, यो दुर्भाग्य हो ।
काँग्रेसमा क्रियाशिल सदस्यताका लागि किन विवाद भइरहन्छ ?
– विवाद किन हुन्छ भन्दा पनि मनोबृति र मनोविज्ञान के छ ? त्यसमा निर्भर पर्छ । काँग्रेसमा यस्ता पनि केहि नेता छन्, जो अरु पार्टीबाट परिचालित छन् । काँग्रेस पार्टीको खोल ओढेर अन्य पार्टीका लागि काम गर्नेहरुका कारण ओरिजनल कार्यकर्ता दुःख पाइरहेका छन् ।
वितरण गरिसकेका क्रियाशिल सदस्यता कायम राखेर छुटेकालाई पनि प्रदान गर्नुपर्ने तपाईहरुको माग हो ?
– होइन् । हाम्रो एक सुक्रिय माग छ– पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित बाँडिएको सबै सदस्यता खारेज गर्नुपर्छ । विधिसम्मत रुपले क्रियाशिल सदस्यता दिनुपर्छ । काँग्रेसका लागि सधैं काम गरेको, आन्दोलन गरेको, यातना र जेल भोगेकाहरुलाई ल्याउनुपर्छ ।
क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको आरोप पार्टीका उपसभापति बिमलेन्द्र निधीमाथि पनि लागेको छ । तपाई के भन्नुहुन्छ ?
– बिमल दाइको संलग्नता रहेको जस्तो मलाई लाग्दैन । जिल्लाबाट पठाएकालाई पनि केन्द्रले मानिरहेको छैन । त्यसैले बिमल दाई भन्दा पनि पार्टी सभापति शेरबहादुर देउवा दोषी हुनुहुन्छ । उहाँकै कारण धनुषा मात्र नभएर प्रदेश २ का सबै जिल्लामा विवाद देखिएको छ । उहाँकै कार्यकर्ता एकलौटी गर्न खोज्नुभएको छ । यो विषयमा बिमलमाथि दोष लगाउनु हुँदैन ।