कोरोना खोप लगाएको केहि घण्टामै एक वृद्धको मृत्यु


काठमाडौं : धादिङमा कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

धादिङको निलकण्ठ नगरपालिका ६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टापछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

उनले भने, ‘सुनौला बजार स्वास्थ्य केन्द्रमा उहाँले आज विहान साढे ११ बजे तिर खोप लगाउनु भएको रहेछ । आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर जानु भएको रहेछ । तर त्यसको झण्डै एकघण्टा पछि उहाँ बेहोस जस्तो हुनुभएपछि फेरि स्वास्थ्य केन्द्रमा परिवारका सदस्यले ल्याएका रहेछन् ।’

स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा. पौडेलले बताए ।उनका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए ।

परिवारका सदस्यका अनुसार एक पटक मात्रै लगाए हुने जे एण्ड जे खोप लगाउन उनले अरु खोप लगाएका थिएनन् । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा। पौडेल बताए । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनले बताए ।

धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले खोप लगाएका एक वृद्धको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी आफूले पाएको बताए । उनले अन्य विषयमा बुझ्ने काम भइरहेको जनाएको कुरा अनलाइन खबरले लेखेको छ ।

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ