बुटवल : नेपालमा अहिले कोभिड १९विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर सबैले खोप पाउने निश्चित भइसकेको छैन । त्यसैबीच बिहीबार दिउँसो अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वांङलाका चोपनारायण श्रेष्ठले फेसबुकमा दुईवटा तस्विर सार्वजनिक गरे ।
उनले एक महिलाले कोरोना विरुद्धको खोप लगाउँदै गरेको तस्वीर सार्वजनिक गरेका थिए। तस्वीर सार्वजनिक भएको केही समयमै व्यापक चर्चा पायो । ‘नेपाली कांग्रेसले सत्ता संचालन गरे लगत्तै कोरोना भाइरसविरुद्धको खोप जनताका घरदैलोमा नै उपलब्ध, चैत मसान्तसम्म सम्पूर्ण देशबासीले खोप लगाइ सकिने छ’, श्रेष्ठले लेखेका थिए ।
तर तस्वीर कुनै स्वास्थ्य चौकी वा खोप केन्द्रको थिएन । त्यो तस्वीर अर्घाखाँचीको वांङलाको सन्देश नेवारी खाजाघर भित्रको थियो। तस्वीरमा एक महिलालाई खोप लगाउँदै गरेको र टेबलमाथि आठ वटा भाइल तथा सिरिन्ज देखिन्छ । यसरी खाजा पसलमा नै खोप लगाएको तस्वीर सार्वजनिक भएपछि यसले स्थानीय प्रशासनको ध्यान खिचेको छ ।
तस्वीर सार्वजनिक भएको केही समयमै बिहीबार नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले चोप नारायणलाई नियन्त्रणमा लिएको छ । उनीमाथि सोधपुछ गर्दा आफूले सो खोप कुनै स्वास्थ्य संस्था वा खोप केन्द्रबाट नभइ कपिलवस्तुका एक औषधि कारोबारीसँग लिएको बताएका छन् । -सेतोपाटी