काँग्रेसको धनुषा सभापतिका आकांशी बढ्दो, जताततै दिनेश प्रसैलाकै चर्चा


जनकपुरधाम : नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिएपछि धनुषामा सभापतिका लागि उम्मेवारी घोषणा गर्ने होडबाजी चलेको छ । आधा दर्जन नेताले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आफ्नो पक्षमा माहोल तयार पार्न उनीहरु भेटघाटमा ब्यस्त बनेका छन् । धनुषाका वर्तमान सभापति महेश शंकर गिरी पनि पुनः सभापतिमा दावी गरेका हुन् । उनी बाहेक पूर्व साँसद दिनेश प्रसैला, जिल्ला उपसभापति सन्तोष यादव, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर जोगी भनिने योगेन्द्र पजियार, हंसपुरका मेयर प्रत्यासी उम्मेदवार प्रदिप यादव र महासमिति सदस्य सुधीर गोइत सभापतिका आकांक्षी छन् । प्रफुल्ल राज घिमिरे पनि जिल्ला सभापतिमा उठ्ने बताइरहेका छन् ।

पूर्वसाँसद प्रसैला काँग्रेस बरिष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट जिल्ला सभापतिमा उम्मेदवारी दिने बुझिएको छ । उनी बाहेकका अधिकांश आकांक्षी पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधी गुटका छन् । सभापतिको उम्मेदवारी दिने भनेर उनीहरु भेटघाट थालिसकेका छन् ।

देउवा–निधी गुटबाट धेरैजना उम्मेदवार भएका कारण पौडेल–सिटौला गुटका प्रसैलालाई चुनाव जित्न सहज हुने देखिएको छ । सभापतिका उम्मेदवारहरुको चर्चा सामाजिक सञ्जालमा समेत हुन थालेको छ । नेता र कार्यकर्ताले आफ्ना गुटका सभापति आकांक्षीको प्रचार–प्रसार गरिरहेका छन् । फेसबुकमा प्रसैलाको बढी चर्चा देखिएको छ । काँग्रेसका युवा नेताहरुले प्रसैलालाई जिताउनु पर्नेमा बढी जोड दिएका छन् ।

धनुषामा करिब १९ हजार क्रियाशिल सदस्य पुगेका छन् । तर नयाँ थपिएका ७ हजार सदस्यतामा विवाद छ । देउवा समूहका नेताहरुले जनकपुरदेखि काठमाडौंसम्म अनसन बसेका छन् । पार्टी सभापति देउवा र उपसभापति निधी गुटका क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले क्रियाशिल सदस्यता बाँडेको आरोप अनसनकारीहरुको छ ।

प्रकाशित : २०७८ श्रावण ९, शनिबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ