वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कर्मचारीहरुले निषेधाज्ञा अवधिमा पनि घूस लिएर केही सेवाग्राहीको काम गरेको रहस्य खुलेको छ ।
गत वैशाख १६ देखि असार ६ गतेसम्म पर्सामा निषेधाज्ञाको कारण भीडभाड हुने अधिकांश सरकारी कार्यालयहरु बन्द रहेको अवस्थामा पनि सेवाग्राहीसंग लाखौं रुपैयाँ घूस लिएर कर्मचारीहरुले जग्गा पास गरेको भूमिसुधार तथा मालपोत विभागकै उच्च स्रोतले जनाएको छ । सो अवधिमा कर्मचारी र केही लेखनदासहरुको मिलोमतोमा ५६ वटा जग्गा सम्बन्धी काम भएको विभागकै स्रोतले बताएको हो ।
सो अवधिमा मालपोत कार्यालय, पर्साको चलानी रजिष्टरमा पनि जग्गा सम्बन्धी काम भएको विवरण उल्लेख गरिएको छ । बैंकको रोक्का, दृष्टिबन्धक, लिखत पासलगायत विभिन्न काम भएको बताइएको छ । रोक्का र दृष्टिबन्धक ५० हजार रुपैयाँ र जग्गा पासको काम १ लाख रुपैयाँ लिएर गरिएको उच्च स्रोतले बताएको छ ।
मालपोत कार्यालय, पर्साका प्रमुख वासुदेव खतिवडाले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनले आफू बिरामी परेर काठमाडौंमा भएको र निषेधाज्ञाको अन्तिमतिर वीरगंजमा सरुवा भएकाले गोप्यरूपमा घूस लिएर जग्गा सम्बन्धी भएको भनिएको कामबारे बुझेर बताउने आश्वासन दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले केही जग्गाको अत्यावश्यक काम भएकाले आफूले सिफारिस गरेको तर दर्जनौंको सङ्ख्यामा गोप्यरूपमा जग्गाको काम भएको बारे थाहा नभएको भन्दै त्यसबारे छानबिन गर्ने बताए । ‘निषेधाज्ञा अवधिमा केहीले उपचार खर्च भएन भनेर जग्गा बेच्ने उद्देश्यले लिएर आएका थिए। दुई–तीनवटा त्यस्तो सिफारिस हामीले गरेका थियौं, अरु ड्राइपोर्ट भन्सारको पुर्जा बनाउने काम भएको होला। बाँकी ५६ वटा जग्गा सम्बन्धी काम कसरी भयो भन्ने विषयमा छानबिन गर्नेछु,’ उनले भने ।
मालपोत कार्यालय, पर्सामा धर्मेन्द्र महतो, प्रभावतीदेवी तिवारी, ममता साह, भीष्म पराजुली, नितेश कुमार, रामकेवल मण्डल, विवेक साह, सरोस्तम दवाडी, कमलेश यादव, प्रमोद चाचान, अरुण मिश्र, दिपु गिरी, लीलावतीदेवी कोइरिन्, रोहित साह, सनी बैठा, प्रेम कुर्मीलगायत व्यक्तिको विभिन्न किताको जग्गाको काम निषेधाज्ञा अवधिमा भएको भूमिसुधार तथा मालपोत विभागको अनलाइन सर्भरबाट थाहा भएको छ ।
यस विषयमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन गत असार ७ गते नै भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसँग जानकारी माग गरे तापनि अहिलेसम्म कार्यालयले कुनै लिखित जवाफ बुझाएको छैन । – बिजमाण्डू