ओली आफू डुबे नै, महन्थ र राजेन्द्रलाई पनि डुबाए : मनिष सुमन


काठमाडौं : जनता समाजवादी पार्टीका नेता मनिष सुमनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टी फुटाइदिएको आरोप लगाएका छन् । आफ्नो सत्ता जोगाउनका लागि ओलीले जसपाका केही नेताहरूलाई लोभ्याउँदा आफू पनि डुबेको र अरुलाई पनि डुबाएको बताए ।

‘ओली आफैँ डुब्दै थिए तर हाम्रा नेताहरू ओलीको लहलहैमा सरकारमा जाने आफ्नै पार्टी अलपत्र पार्ने काममा लागे,’ उनले भने । महन्थ ठाकुर र राजेन्द्र महतोले गम्भीर गल्ती गरेका कारण आफूले साथ दिन नसकेको उनले बताए । नेता सुमनले मधेसका सबै मुद्दा सम्बोधन गर्छु भन्दै ठाकुर र महतोलाई ओलीले भ्रमित पारेको बताए । उनले भने, ‘राजेन्द्र, महन्थहरू सरकारमा जानका लागि पार्टी नै फोड्न तयार भए तर आफ्नो गल्ती स्वीकार्न मानेन् ।’

मधेसले पहिलो पटक कार्यकारी पद पाउने अवसर पाएको तर महन्थ ठाकुरको अदूरदर्शिताका कारण ऐतिहासिक अवसर गुमेको नेता मनिषको भनाइ छ । उनले भने, ‘ओलीको विकल्पमा सबै दल एक ठाउँमा थिए, पहिलो पटक मधेसबाट प्रधानमन्त्री बन्ने अवसर महन्थले पाएका थिए ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव नै राखेको उनले बताए ।

आफू महन्थ ठाकुरकै समूहमा रहे पनि पछिल्लो समय पार्टी एकताका लागि आधिकारिक जसपामै रहेको नेता सुमनले बताए । आफू निरन्तर मधेस आन्दोलन र जनताको पक्षमा रहेको भन्दै नेता सुमनले पार्टी र राजनीति बचाएको भन्दै उपेन्द्र यादवलाई धन्यवाद पनि दिए ।

यादवको पार्टी बचाएर उद्धार गरिदिएको तर अहिले यादवले आफूलाई नै धोका दिएको भन्ने ठाकुर पक्षका नेताहरूप्रति लक्षित गर्दै नेता सुमनले भने, ‘पार्टी नीति, विचार, सिद्धान्त, अनुशासन र कार्यक्रमले चल्छ भावनाले चल्दैन ।’ उनले थपे, ‘उपेन्द्रको उद्धार गर्‍यौँ भनेर धेरै गीति क्यासेट नबजाउनुस्, यत्रा दिग्गज नेताहरूलाई पार्टी कसरी चल्छ, मैले सम्झाउनु पर्छ र ?’ – शिलापत्र

प्रकाशित : २०७८ श्रावण १३, बुधबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ