धनुषा : रबिदासको शव बुझ्न परिवार तयार, क्षतिपूर्ति र छानविनको आश्वासन मात्र


जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका पल्टु रविदासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो पीडित परिवार, दलित अगुवा तथा अधिकारकर्मी र प्रहरी तथा स्थानीय प्रशासनबीच भएको वार्तामा दुई बुँदे सहमतिपछि पीडित परिवारले शव बुझ्न तयार भएका हुन् । घटना अनुसन्धानका लागि उच्चस्तरीय छानबिन टोली गठन र पीडित परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।

ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दामा थुनामा रहेका लक्ष्मीनियाँ गाउँपालिका २ का ४० वर्षीय पल्टु गएको साउन १५ गते हिरासत कक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो झुण्डिएको अवस्थामा भेटिएका थिए ।

सोही दिन मुचुल्का गरी उनको शव पोष्टमार्टम भइसके पनि पल्टुको हत्या भएको भन्दै उनका परिवारले घटना निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन् । उनीहरू घटना भएकै दिनदेखि प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार १५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ