धनुषामा दलितको घरमै पसेर कुटपिट, आधा दर्जन घाइते


जनकपुरधाम : एक समूहले धनुषाका दलित परिवारलाई घरभित्रै पसेर मरसान्न हुने गरि कुटपिट गरेका छन् । मंगलबार राति उनीहरुको कुटपिटबाट दलित समुदायका आधा दर्जन व्यक्ति घाइते भएका हुन् ।

जिल्लाको धनुषाधाम नगरपालिकाका एमाले नेता योग कुमार यादवका आफन्त तथा उनको समूहले कुटपीट गर्दा नगरपालिकाका ४ का दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएको स्थानीयहरुले बताएका छन् । घाइते हुनेहरुमा श्रीचन महरा, हिरा देवी महरा, ओपिन महरा, उर्मिला महरालगायत छन् । उनीहरुको धनुषाधामस्थित स्थानीय स्तरमा उपचार भईरहेको छ ।

धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु संजय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादवलगायका समूहले घरमै पसेर कुटपीट गरेको घाइते श्रीचन महराले अरोप लगाए । जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथी आक्रमण गर्ने गरेको महराले बताए ।

सामाजिक झैँ–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपीट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

प्रहरीको टोली घटनास्थल पुग्दा कुटपीट गर्नेहरु भागिसकेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए ।

प्रकाशित : २०७८ श्रावण २०, बुधबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ