एमाले माधव नेपाल पक्ष विद्रोहको तयारीमा, देशभर समानान्तर कमिटी बनाउन निर्देशन


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ ।

अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो । ‘अहिले माधव नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई फोनबाट विद्रोहका लागि तयार रहन र त्यहीअनुसार संगठन बनाउन निर्देशन दिइरहनुभएको छ’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने ।

ओलीले एमालेभित्र छिर्न नदिएपछि नेपालले वैकल्पिक पार्टी निर्माणको बाटो अघि बढाउन थाल्नुभएको हो । ‘अहिलेका लागि समानान्तर कमिटी बनाउनेमा विशेष जोड छ तर यही स्थितिमा कहिलेसम्म रहने भन्ने कुरा पनि हुन्छ । अध्यक्ष केपी ओलीजीले एकताको ढोका करिबकरिब बन्द गर्नुभयो भन्ने नेता माधव नेपालको निष्कर्ष छ’, नेपाल निकट जीवनराम श्रेष्ठले भन्नुभयो ।

नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार नेपाल पक्षले साउन २१ र २२ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीका कारण पार्टी एकताको सम्भावना न्यून भए पनि अन्तिम अवस्थासम्म एकताका पक्षमा पहल गर्ने निर्णय गरेको थियो  । तर ओलीले एकपक्षीय रुपमा विधान संशोधन प्रक्रिया अघि बढाएपछि नेपाल समूह पनि विद्रोहको तयारीमा अघि बढेको हो ।

नेपाल पक्षीय बैठकको निर्णयमा ‘पार्टी एकताको अनिवार्यतालाई हृदयंगम गर्दै तत्कालका लागि विभाजनको बाध्यात्मक नीति’ अवलम्बन नगर्ने र अन्तिमसम्म पार्टी एकताकै पहल गर्ने उल्लेख छ । बैठकका अधिकांश वक्ताले यथास्थितिमा एकता गर्न नहुने भन्दै ससम्मान एकता हुनुपर्ने धारणा राखेका भए पनि नेता नेपालले विघटित कार्यदलका सदस्यलाई चाँडै नै विवाद निरुपण गर्न र ओली पक्षसँग कुराकानी टुंग्याउन आग्रह गरेका थिए । ‘कार्यदलका साथीहरूलाई मैले भनेको छु संवादको विषय चाँडै टुग्याउनुस् नत्र अघि बढ्नुपर्ने हुन्छ’, बैठकमा नेपालले भन्नुभएको थियो ।

विवाद नमिल्दै अध्यक्ष ओली एकलौटी रुपमा अघि बढेकै कारण नेपालले आफू निकट केन्द्रीय सदस्यहरूलाई फोनबाट वैकल्पिक शक्ति निर्माणको संकेतसहित तयारीमा रहन आग्रह गरेका हुन् । ओलीले भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेपछि पार्टी एकता पक्षमा रहेका नेताहरू चिढिएका छन् । ओली पक्षले विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न विभिन्न समिति बनाएको छ । राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा पार्टी अध्यक्ष ओली र सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे छन् ।

त्यसैगरी, संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा पार्टी महासचिव ईश्वर पोखरेल र सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल छन् । विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल र सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह छन् । व्यवस्थापन समितिको संयोजकमा रामबहादुर थापा र सदस्यहरूमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा छन् ।

‘उहाँहरू (ओली पक्ष)ले यसरी एकलौटी ढंगले बैठक राखे र निर्णय गरेपछि पार्टी एकताको ढोका बन्द भयो भन्ने हामीले बुझेका छौं। त्यसकारण विकल्प सोच्न बाध्य हुने अवस्था आएको हो’, नेपाल निकट वैकल्पिक पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले बताउनुभयो ।नेपाल पक्षभित्र पनि पार्टी एकताकै पक्षका रहेका नेताहरूले अझै पनि नेपाललाई वैकल्पिक शक्ति निर्माणका लागि अघि नबढ्न सुझाव दिएका छन्। तर नेता नेपालले ओलीबाट अब अपेक्षा गर्ने ठाउँ सकिएको बताउँदै आफू अघि बढ्ने संकेत गर्नुभएको छ ।

नेपाल पक्षले वैकल्पिक पार्टी गठन गर्नुपर्ने स्थितिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको नामलाई समेत अन्तिम रुप दिने काम गरिरहेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र सातवटै प्रदेशसभाका सांसदहरूको सूची पनि तयार गरिएका छन् । त्यसैगरी पार्टी दस्तावेज लेखनकार्य पनि अन्तिम चरणमा पुगेको छ । प्रेम आले, किशान श्रेष्ठलगायतका नेताहरूलाई पनि नेपाल पक्षले उचित जिम्मेवारी दिने तयारी थालेको छ। नेपाल पक्षले सांसदहरूको लेबी पनि संकलन गर्न थालिसकेको छ।

नेपाल पक्षले अझै पनि केही समय कुर्न सकिन्छ कि भनेर समानान्तर कमिटी मात्रै बनाएको छ । तर ओली पक्षबाट कुनै पनि पहल नभएपछि नेता नेपाल आफैंले केन्द्रीय सदस्यहरूलाई फोन गरेर अब अघि बढ्ने जानकारी गराएको स्रोतको दाबी छ ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ