लहान : गिलेशन कोठाहहरु खाली गर्न मेयरको उर्दी, चार दलको विरोध


लहान : लहान नगरपालिकाले वडा नम्बर ५ स्थित आधुनिक संरचना निर्माण गर्ने नाममा सयौं व्यापारीलाई गिलेसन कोठाहरु खाली गर्न उर्दी जारी गरेको छ ।

लहानका मेयर मुनी साहको निर्देशनमा निमित्त प्रमुख कार्यकारी अधिकृतले २४ घण्टाभित्र गिलेसन कोठाहरु खाली गर्न उर्दी जारी गरेका हुन् । बिहीवार १२ बजेर ३० मिनेटमा उर्दी जारी गर्दै भनेको छ, ‘२४ घण्टाभित्र खाली नगरे नगरपालिकाबाट खाली गराइने व्यहोरा समेत जानकारी गराइन्छ ।’ यस्तो उर्दी जारी गरेपछि सयौं व्यापारी त्रसित बनेका छन् ।

गिलेसन कोठाहरु जीर्ण बनेको भन्दै आधुनिक संरचना निर्माण गर्ने नगरपालिकाको योजना छ । तर व्यापारीहरुले तत्काल व्यावसाय संचालन गर्न अस्थायी संरचना निर्माण गरिदिनुपर्ने माग गरेका छन् । उनीहरुको मागलाई वेवास्ता गर्दै नगरपालिकाले गिलेसन कोठाहरु खाली गर्न उर्दी जारी गरेपछि चार राजनीतिक दलले विरोध जनाएको छ ।

शुक्रवार नेकपा एमालेका सत्यनारायण यादव, जसपाका दिनेश महतो, नेकपा माओवादी केन्द्रका विजय कुमार गुप्ता र नेपाली काँग्रेसका सुनिल कुमार महतोले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर गिलेसन कोठाहरु खाली गर्न नगरपालिकाले दिएको निर्देशन फिर्ता लिन माग गरेको छ ।

वडा नम्बर ५ को वडा कार्यालयको उत्तरपट्टी रहेको खाली जग्गामा नगरपालिकाले तत्काल अस्थायी संरचना निर्माण गरेपछि मात्र गिलेसन कोठाहरु व्यापारीले खाली गर्ने सहमती विपरित नगरपालिकाले उर्दी जारी गर्दा दुःख लागेको माओवादी केन्द्रका नगर प्रतिनिधि विजय कुमार गुप्ताले बताए । उनले भने, ‘मेयर साहले व्यावसायीलाई दुःख दिने नियतले खाली गराउन निर्देशन जारी गर्नुभएको छ । यदि खाली गर्ने निर्णय फिर्ता नलिए हामी चार दलिय राजनैतिक गठबन्धन आन्दोलन गर्न बाध्य हुनेछौं ।’

मेयर मुनि साहले दलित गरिबको भोट लिएर अहिले दुःख दिन खोजेको गिलेसन कोठामा व्यावसाय गरिरहेको एक व्यापारिले बताए । आफूहरुलाई विरोधी भन्दै पटक पटक खाली गर्न निर्देशन दिएको उनले सुनाए । ‘तत्काल अस्थायी संरचना व्यवस्था नगरे व्यवसाय नै बन्द हुन्छ’, उनले प्रश्न गरे, ‘अनी बेरोजगार भएपछि कसरी परिवार पाल्ने ?’

मेयर साह व्यावसायीको दुःख नबुझेको प्रति उनीहरु चिन्तित छन् । तर मेयर साह कुनै पनि हालतमा गिलेसन कोठाहरु खाली गराएरै छाड्ने मुड बनाएको स्रोतले जनायो । यसअघि पनि कतिपय जनविरोधी कार्य गरेका मेयर साहको व्यापाक विरोध भइरहेको छ ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार १०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ