सप्तरीमा भारततर्फ लगिरहेको ८५ कार्टुन स्याउसहित मुखिया पक्राउ


सप्तरी : अवैध रुपमा भारततर्फ तस्करी गरी लैजान लागेको ८५ कार्टुन स्याउ प्रहरीले आज बरामद गरेको छ ।

भारतीय सीमा नजिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा भारततर्फ लैजाँदै गरेको दुईवटा ठेला रोकी जाँच गर्दा २५ कार्टुन र स्थानीयवासी मनोज मुखियाको गोठबाट ६० कार्टुन स्याउ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रहरीलाई देख्नासाथ स्याउ ओसार्दै गरेका एकजना ठेला चालक भागी फरार भएको र अर्का ठेला चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम् पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । भारततर्फ लैजाँदै गरेको दुई ठेलामा २५ कार्टुन स्याउ बरामद भएको छ ।

सोधपुछका क्रममा पक्राउ परेका पण्डितले सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताएपछि सो ठाउँमा खानतलासी गर्दा थप ६० कार्टुन स्याउ फेला पारेको हो ।

आवश्यक कानुनी कारवाहीका लागि पण्डितसहित करिब तीन लाख ४५ हजार मूल्य बराबरका ८५ कार्टुन स्याउलाई राजविराज बेल्ही भन्सार कार्यालय तिलाठीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार २२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ