राजेश अहिराजले भने- देशभक्तिको सवालमा प्रदेश २ बलियो


जनकपुरधाम : शेरबहादुर देउवा सरकारले प्रदेश २ प्रमुखबाट पदमुक्त गराइएका डा. राजेश अहिराजले देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको दावी गरेका छन् ।

सोमबार पदमुक्त भएका उनले आज विज्ञप्ती जारी गरेर भनेका छन्, ‘अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आमनागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो छ ।’

उनले सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी रहेको उल्लेख गरेका छन् ।

सबल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा आफ्नो भूमिका सदैव रहिरहने र पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा पनि गरेका छन् । साथै सरकारले दिएको सुरक्षाकर्मी आजै फिर्ता पठाउने उनले उल्लेख गरेका हुन् ।

तत्कालीन केपी शर्मा ओली सरकारले अहिराजलाई ०७७ फागुन ७ मा प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । उनी १८० दिनपछि सोमबार पदमुक्त भएका छन् । सरकारले सोमवार नै प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ