प्रदिप गिरीको अवस्था सामान्य, परिवार भन्छ- अफवाह फैलाइयो


काठमाडौं : कांग्रेस नेता प्रदिप गिरीको थाइराइडको अपरेसन गरिएको छ । भारतको हिन्दुजा अस्पतालमा गिरीको सामान्य अपरेशन गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गिरीका आफन्त पवन गिरीकाअनुसार मंगलबार बेलुका हिन्दुजा अस्पतालमा थाइराइड अपरेशन गरिएको हो । गिरीको अवस्था अहिले सामान्य रहेको पवन गिरीले जानकारी दिए । एक महिनाअघि नै नयाँ दिल्ली गएका गिरी त्यहाँ सामान्य उपचारपछि मुम्बइ गएका हुन् । मुम्बइमा उनको अपरेसनपछि अस्पतालमै आराम गरिरहेका छन् ।

गिरीले आफन्तलाई पठाएको सन्देशमा ‘चिकित्सकले केही दिन नबोल्न र आराम गर्न भनेको’ उल्लेख छ । तर अवस्था सामान्य रहेको सन्देश उनले आफन्तलाई पठाएका छन् ।

‘गिरीको अवस्था गम्भीर होइन, गम्भीर भनेर केही मिडियामा अफवाह फैलाइयो,’ पारिवारिक स्रोतले बाह्रखरीसँग कुरा गर्दै भन्यो, ‘अवस्था सामान्य छ । केही दिन आराम गर्न भनेको छ ।’

गिरीका साथमा कृष्ण खनाल, रामसागर यादव र डा. सन्दर्भ गिरी रहेका छन् । पवनका अनुसार गिरी त्यहाँबाट डिस्चार्ज भएपछि पुनः नयाँ दिल्ली जानेछन् र अबको १०–१५ दिनमा गिरी नेपाल आउने छन् ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १५:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ