माधव नेपाल र महन्थ ठाकुरले पार्टी दर्ताका लागि पुनः निवेदन दिनुपर्ने


काठमाडौं : माधव नेपाल र महन्थ ठाकुरले नयाँ पार्टी दर्ताका लागि पुनः निवेदन दिनुपर्ने भएको छ ।

माधव नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दल दर्ताका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । तरराजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ मा संशोधन भएपछि बन्ने कार्यविधि अनुरुप उनीहरुले पुनः निवेदन दिनुपर्ने भएको छ ।

कार्यविधि अनुरुप निवेदन दिएपछि मात्रै दर्ता प्रक्रिया सुरु हुने निर्वाचन आयोगले स्पष्ट गरेको छ । आयोगको फरम्याटमा पुनः निवेदन दिएपछि दर्ता प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारमात्रै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् । अध्यादेश जारी भएपछि आयोगले आज अध्यादेश अनुरुप राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ संशोधन गरेको छ । नियमावली अध्यादेश अनुरुप संशोधन गरेर सम्पादनका लागि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइसकेको छ ।

अब कानुनले आवश्यक सम्पादनपछि राजपत्रमा सूचना प्रकाशन गर्नेछ । त्यसपछि त्यसैअनुरुप बन्ने कार्यविधिमा नयाँ दल दर्ताका लागि कसरी निवेदन दिने उल्लेख हुने प्रमुख आयुक्त थपलियाको भनाई छ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ