सवारी लाइसेन्सका लागि परीक्षा सुरु हुँदै, तर छैन स्मार्ट कार्ड


बीबीसी : कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ ।

विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ । विभागका सूचना अधिकारी लोकनाथ भुसालले आवेदन दिएकाहरूले अबको १० देखि १५ दिनमा परीक्षा दिन पाउने जानकारी दिएका छन् ।

‘पछिल्लो परिस्थिति हेर्दा हामी ‘न्यू नर्मल’मा बाँच्नुपर्ने स्थिति आयो । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड स्वीकृत गरेर सबै यातायात कार्यालयहरूलाई यथाशीघ्र परीक्षा सुरु गर्न र त्यसको सात दिनअघि नै सूचना जारी गर्न बिहूवार पत्राचार गरेका छौं’, उनले भने ।

विभागले डेढ महिनाअघि नै परीक्षा सञ्चालन गर्ने गृहकार्य अघि बढाएको भए पनि सबै किसिमका परीक्षा सञ्चालन गर्नमा रोक लगाइएको अवस्थामा त्यो अघि बढ्न सकेको थिएन ।

लामो समयदेखि प्रतीक्षारत सर्वसाधारणहरूले परीक्षा दिन पाए पनि तत्काल स्मार्ट लाइसेन्स प्राप्त गरिहाल्ने अवस्था भने देखिँदैन । विभागले लगभग सात लाख सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिन नसकिएको जनाएको छ । कागजमा छापिएको अनुमतिपत्रबाट स्मार्ट लाइसेन्समा जाँदा धेरै प्राविधिक कारण मागअनुसार कार्ड उपलब्ध गराउन नसकेको भुसालले जानकारी दिए ।

अहिले सरकारले १४ लाखवटा स्मार्ट कार्ड प्राप्त गर्नेगरी फ्रान्सको एक कम्पनीले टेन्डर दिइएको र त्यो अबको एकदेखि डेढ महिनामा कार्यान्वयनमा आउने बताइएको छ । ‘अर्को छदेखि सात महिनामा मात्रै सबै सेवाग्राहीलाई स्मार्ट कार्ड उपलब्ध गराउन सकिने अवस्था छ,’ उनले भने।

प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ