कांग्रेस जिल्ला सभापतिहरूले तोडे अनसन


काठमाडौं : विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनसन स्थगन भएको छ ।

देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्नेलगायत माग राखेर जारी अनसन शनिबार साँझ स्थगन भएको हो ।

जिल्ला सभापतिको अनसन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिएका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सानेपा पुगेका थिए ।

पार्टीका संस्थापन इतर पक्षको समेत समर्थन रहेको उक्त अनसनमा पार्टीका सभापति शेरबहादुर देउवा जिल्ला सभापतिले राखेका मागप्रति सकारात्मक देखिएपछि अनशन स्थगन गरिएको कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले बताए । ‘जिल्ला सभापतिले राखेको तीनवटै मागप्रति नेतृत्व सकारात्मक देखिएको र समयमा महाधिवेशन गर्न इच्छुक देखिएकाले हामीले अनशन स्थगन गरेका हौँ,’ उनले भने ।

जिल्ला सभापतिले राखेका माग र सहमतिमा अधिवेशन गराउनेबारे यसअघि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको थियो । रासस

प्रकाशित : २०७८ भाद्र १२, शनिबार २०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ