श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा राष्ट्रपतिको सन्देश


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरेकी हुन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

राष्ट्रपतिले सन्देशमा भनिएको छ, ‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने अपेक्षा लिएको छु ।’

राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन राष्ट्रपति भण्डारीले आग्रह पनि गरेकी छन् ।

यसैगरी राष्ट्रपतिले भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वका अवसरमा पनि शुभकामना सन्देश दिएकी छन् ।

प्रकाशित : २०७८ भाद्र १४, सोमबार ०६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ