के भगवान श्रीकृष्णका १६ हजार १ सय ८ पत्नी थिए ?


हिन्दु धर्मको पौराणिक कथा अनुसार जब जब धर्मको हानी र अधर्मको बिस्तार हुन्छ तब तब संसारको उत्थानकालागि भगवान विष्णु धर्तीमा अवतरित हुन्छन् । यसै क्रममा थुप्रै पटक श्री विष्णुका अनेकौं अवतार लिएको कथा पढ्न पाइन्छ । यिनै अवतार मध्ये श्रीकृष्ण र राम विष्णुका ति दुई अवतार हुन् जसले धर्मको स्थापना र बिस्तार गरे ।

त्रेता युगमा भगवान राम र द्वापर युगमा भगवान कृष्णको रुपमा श्री विष्णुले अवतार लिएका थिए । यीमध्ये भगवान रामले जीवनमा आदर्शको महत्व प्रमुखताका साथ स्थापित गरे । यस्तै कृष्णले एक साधारण व्यक्तिको क्षमता, आकांक्षा र परिस्थितीका अनुसार निर्णय लिने कुरालाई आफ्नो जीवनचक्रमा स्थान दिए ।

कृष्णा जन्माष्टमीको अवसरमा भगवान कृष्णका केहि रोचक कुराहरु जानौं :
कृष्णका १६ हजार १ सय ८ गोपिनी : श्रीकृष्णको महारासलीलाबारे त प्राय भक्तलाई थाहा छ । गोकुलमा उनले आफ्ना सबै गोपिनीसँग एकसाथ अनेक रुप धारण गरेर महारास रचाएको प्रसंग छ । पुराण अनुसार श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनी थिए ।

कृष्णको १६ हजार रुपमा विवाह : कृष्णको १६ हजार रुपमा विवाह भएको प्रसंग छ । तर यो कसरी सम्भव भयो ? यसबारे पुराणमा उल्लेख गरिए अनुसार एक मानसिक रोगीले अमरता पाउने भ्रममा १६ हजार कन्यालाई बली दिन कैद गरेको थियो । श्रीकृष्णले ति कन्यालाई कैदमुक्त गरिदिए । तर उनिहरुका परिवारका सदस्यले चरित्रको नाममा उनीहरुलाई अपनाउन अस्विकार गरे । तब कृष्णले १६ हजार रुपमा प्रकट भएर उनिहरुसंग एकसाथ विवाह गरे । यी विवाहका अलावा कृष्णले केही प्रेम विवाह पनि गरे ।

एक पत्नी ब्रतको संकल्प : त्रेतायुगमा थुप्रै युवतीले रामसँग विवाहको वरदान मागेको कथा छ । त्यतिबेला रामले यो जन्ममा एक पत्नी ब्रतको संकल्प लिइसकेको भन्दै अर्को जन्ममा सबैसँग विवाह गरेर इच्छा अवश्य पूरा गर्ने बताएका थिए । द्वापर युगमा श्रीकृष्णको रुपमा जन्म लिएर श्रीरामले आफ्नो पूर्व जन्मको वरदानलाई सार्थक गरे भन्ने प्रसंग छ ।

कुनै श्रीमती निराश भएनन् : श्रीकृष्णले १६ हजार १ सय ८ नारीसंग विवाह गरे । तर अचम्मको कुरा के छ भने यतिधेरै विवाह गरेपनि श्रीकृष्णले आफ्ना कुनै पनि श्रीमतीलाई निराश गराएनन् । आफ्नो लीलाले उनी त्यति नै रुप लिएर आफ्ना १६ हजार १ सय ८ रानीसँगै बसिरहे र आफ्नो पतीब्रत धर्मको पालना गरिरहे ।
१ लाख ६१ हजार ८० पुत्र : यतिमात्र होइन, श्रीकृष्णका सबै श्रीमतीले १० पुत्र र एक पुत्रीलाई जन्म दिए । यसरी उनका १ लाख ६१ हजार ८० पुत्र र १६ हजार १ सय ८ पुत्री थिए ।

प्रकाशित : २०७८ भाद्र १४, सोमबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ