दरभंगा सिटी स्क्यानका मालिक भन्छन्- सई यादव कोल्ड ड्रिङ्क मात्र खाएका थिए


जनकपुरधाम : जनकपुरधामको हस्पिटल चोकमा रहेको दरभंगा सिटी स्क्यानका मालिक केदार यादवले जानकी प्रहरी चौकीका इन्चार्ज सई नागेन्द्र यादव मदिरा नखाएको दावी गरेका छन् ।

चार दिन अगाडी सई यादव सिटी स्क्यान पसलभित्र मदिरा जस्तै पेयपदार्थ खाएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई तानेर अनुसन्धान गरिरहेको छ । उनलाई बिभागिय कारबाही गर्ने प्रहरी अधिकारीले बताएका छन् ।

तर सिटी स्क्यानका मालिक केदार यादवले मंगलवार पत्रकार सम्मेलन गरी सई यादव निर्दोष रहेको दावी गरे । उनले भने, ‘भाडामा लिएको कोठा धनीसँग विवाद भएपछि सई यादवलाई बोलाएका थियौं । यो कुरा सबैलाई थाहा छ । त्यहाँ कोल्ड ड्रिंक (चिसो) खानुभयो । तर त्यसलाई मदिरा भन्दै सामाजिक सञ्जालमा भाइरल गरियो ।’

‘घरधनी नन्दकिशोर महासेठले मेरै अफिसका कर्मचारी आनन्द साहलाई प्रलोभनमा पारेर सिसिटिभीको फुटेज निकाल्न लगायो’, सिटी स्क्यानका मालिक यादवले भने, ‘त्यो फुटेज पत्रकारलाई बाँडेर सई यादवलाई फसाउन खोजिदैछ । तर सत्य भन्ने हो भने उहाँ सुरक्षा दिनका लागि आउनुभएको थियो । मदिरा खाएकै छैन ।’

बिना गल्ती सई यादव कारबाहीमा पर्न लागेको भन्दै उनले सत्यतथ्य उजागर गरिदिन मिडियाकर्मीहरुसँग हात जोडर बिन्ती गरे । उनका कर्मचारी साहले पनि आफूलाई महिनाको ४० हजार तलब दिने प्रलोभन दिएपछि सिसिटिभीको फुटेज नन्दकिशोर महासेठलाई दिएको स्वीकारेका छन् ।

सिटी स्क्यानका मालिक यादव र घरधनी महासेठबीच साउन १६ गते राति नै विवाद भएको थियो । तर त्यो दिनको फुटेज भने झण्डै एक महिनापछि सार्वजनिक भएपछि सई यादव फसेका छन् ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार १३:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ