जनकपुरधाम : बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री बिजय यादवले जमिन-आशमान एक गरिदिने प्रतिवद्धताका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
जनकपुरधामको मुरली चोकमा रहेको मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री यादवले यस्तो निर्देशन दिए ।कर्मचारीलाई उनले भने, ‘तपाईहरु नै स्थायी सरकार हुनुहुन्छ । गर्ने तपाईहरु नै हो । तपाईहरुले गर्नुभयो भने मात्र सफलता प्राप्त हुन्छ । त्यसैले सफलताका लागि सबैजना मेहनत गरौं ।’
सबैकुरा मन्त्रीले नै गर्ने कन्सेप्ट त्याग्न उनले कर्मचारीसँग आग्रह समेत गरे । संघ सरकार दुश्मन नभई अभिभावक रहेको उल्लेख गर्दै उनले भने, ‘अभिभावकसँग हामीले लिने क्षमता राख्नुपर्छ ।’
मन्त्री यादवले किसानले मन्त्रालयबाट पाउने सुविधाको सूचना एक महिनाभित्र निकाल्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘ढिलो सूचना निकाल्दा किसानले सेवा सेवाधाबाटै बञ्चित हुन्छ । बजेटको सदुपयोग हुँदैन । त्यसैले छिटोभन्दा छिटो सूचना निकाल्नुपर्छ ।’
मन्त्रालय पुगेलगत्तै राज्यमन्त्री योगेन्द्र राय यादव र कर्मचारीहरुले मन्त्री यादवलाई भव्य स्वागत गरेका थिए ।