इस्ट इन्डिया कम्पनीभन्दा पनि एमसीसी खतरनाक : भीम रावल


काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो, त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घरघरमा पु¥याउन लागेको उनको भनाइ छ । उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता–कार्यकर्ताहरूलाई आह्वान गरे ।

‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्‍याइँदै छ । नेपाललाई पराधीन उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरूले भारतमा इष्ट इन्डिया कम्पनी खोले, त्यो इस्ट इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसीसी,’ उनले भने, ‘जसरी अस्थिर राजनीति भएको बेलामा अगाडि बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदै छ ।’

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्तानुरूप नभएको उनले उल्लेख गरे । एमसीसीको कतिपय प्रावधानहरूले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनतामाथि हमला गर्ने पनि उनले बताए ।

प्रकाशित : २०७८ भाद्र १९, शनिबार १९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ