प्रदेश २ सहितका केहि स्थानमा भीषण वर्षाको सम्भावना


काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण पहाडी भूभागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ