मारुती सिमेन्टले अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन छानविन गर्न समिति गठन


जनकपुरधाम : सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा र जिल्ला वन कार्यालयमा भएको भ्रष्टाचार विषयमा छानविन गर्न प्रदेश २ को उद्योग, पर्यटन तथा वन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयका उपसचिव नन्दलाल राय यादवको संयोजकत्वमा सात सदस्यीय छानविन समिति बनाएको हो । समितिमा सोही मन्त्रालयका सहायक वन अधिकृत सुजित कुमार झालाई सदस्य सचिव राखेको छ । मन्त्रालयका प्रदेश सचिव डा. रामचन्द्र कडेलले छानविन गरी प्रतिवेदन पेश गर्न समिति संयोजक वन संरक्षण÷व्यवस्थापन अधिकृत यादवलाई आईतवार पत्र पठाएको छ ।

चुरे तथा वन जंगल संरक्षण अभियानकी सहसंयोजक रानी राय भुमिहार र धनुषा संयोजक अमन यादवले जनकपुरमा आमरण अनसन बसेका थिए । त्यसपछि अभियानका सल्लाहकार सरोज रायसँग प्रदेश २ सरकारको तर्फबाट भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले ५ बुँदा गरेपछि उनीहरु अनसन तोडेका थिए ।

सम्झौता अनुसार उद्योग, पर्यटन तथा वन मन्त्रालयले छानविन समिति बनाएको छ । मारुती सिमेन्ट उद्योगले वनको करोडौंको जग्गा अतिक्रमण गरेपछि पटक पटक आन्दोलन गर्दा पनि सरोकारबाला निकाय मौन बस्दा चुरे अभियानीहरु जनकपुरमा आमरण अनसन बसेका थिए ।

अतिक्रमित वनको जग्गा फिर्ता ल्याउनुपर्ने चुरे अभियानीको माग छ । यस्तै वन कार्यालय लहान, सिरहाले वृक्षारोपनका लागि खरिद गरेको विरुवामा भ्रष्टाचार गरेको आरोप पनि चुरे अभियानीको छ ।

प्रकाशित : २०७८ भाद्र २१, सोमबार ११:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ