टुडेखोज, जनकपुरधाम : मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त पदाधिकारीहरुको तलब सुविधा रोक्न उच्च अदालत जनकपुरधामले अन्तरिम आदेश जारी गरेको छ ।
अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलाशले प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्ट्रार डा. विनोद कुमार यादवको तलब सुविधा रोक्न अन्तरिम आदेश दिएको हो । उनी तिनैजनाको नियुक्ति प्रतिष्ठानको ऐन विपरित रहेको आदेशमा जिकिर गरिएको छ ।
प्रदेश सरकारले प्रदेश भित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उदेश्यले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो । गत वर्ष माघ १८ मा प्रदेश सरकारले प्रतिष्ठानको उपकुलपति, रेक्टर र रजिष्ट्रार नियुक्त गरेको थियो ।
प्रतिष्ठानका पदाधिकारीको नियुक्ति ऐन विपरित रहेको दावी गर्दै उनीहरुको काम, तलब र सुबिधा रोक्न देवानन्द झाले उच्च अदालत जनकपुरधाममा रिट दर्ता गराएका थिए ।