प्रचण्डले भने– ढुक्क हुनुस्, एमसीसी पास हुँदैन


काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाएपनि अहिलेसम्म जवाफ नआएको र एमसीसी पास नहुने बताएका छन् ।

मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को केन्द्रीय समिति बैठकमा बोल्दै उनले अहिलेसम्म एमसीसीबारे जवाफ नआएको र पास नहुने बताए । उनले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन । र, एमसीसी पास हुँदैन ।’

साथै, उनले सबैलाई राष्ट्रघाती कदममा माओवादी कदापि अघि नबढ्ने पनि बताएका छन् । ‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन,’ उनले भने ।

एससीसीको व्यापक विरोध भएपछि प्रचण्डले सो विषयमा स्पष्ट पार्न बाध्य बनेका छन् । सरकार एमसीसी पास गर्न लागेको भन्दै देशभर विभिन्न पार्टीले विरोध गरिरहेको छ । विप्लव नेतृत्वको माओवादी पनि देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ ।

सत्तारुढ जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भने एमसीसी पास हुनपर्ने बताएका थिए । प्रमुख सत्तारुढ नेपाली काँग्रेस भने एमसीसीबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैन ।

प्रकाशित : २०७८ भाद्र २२, मंगलवार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ