मधेसका किसानको माग- भारतीय बजारबाट रासायनिक मल ल्याउन दिनु


रौतहट : मधेसमा पर्ने रौतहटका किसानले भारतीय बजारबाट आफ्नो आवश्यकता अनुसार रासायनिक मल ल्याउन दिनुपर्ने माग सरकारसँग गरेका छन् ।

सदरमुकाम गौरमा ‘आइटी किसान’ले बुधबार आयोजना गरेको कोणसभामा बोल्दै किसानका प्रतिनिधिले सीमा क्षेत्रमा किसानले भारतबाट ल्याएको मललाई सुरक्षाकर्मीले तस्करीको भन्दै नियन्त्रणमा लिने गरेकोमा आपत्तिसमेत जनाए ।

सरकारले पर्याप्त मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन पनि नसक्ने र किसान आफैले जेनतेन ल्याएको मललाई पनि तस्करीको भन्दै प्रहरीले नियन्त्रणमा लिने गर्दा कयौं किसान मर्कामा परेको उनीहरुको भनाइ थियो ।

२०५७ साल अघि साल्ट ट्रेडिङ, कृषि सामग्री संस्थानका साथै ब्यापारीले समेत तेस्रो मुलुकबाट मलखाद ल्याउने गरेकाले देशमा कहिल्यै मलखादको अभाव नभएको भन्दै उनीहरुले रासायनिक मल ल्याउन निजी क्षेत्रलाई पनि अनुमति दिन माग गरे । हाल रौतहटमा मलखाद अभाव भएको भन्दै उनीहरुले ९०० रुपैयाँ प्रति बोरा मूल्यको युरिया मल एक हजार ७०० रुपैयाँ तिरेर खरिद गर्नु परेको गुनासोसमेत गरे ।

निजी क्षेत्रले तेस्रो मुलुकबाट मलखाद ल्याउन सक्ने गरी सरकारले कानुनी ब्यवस्था गरिदिएमा देशमा मलखाद अभावको समस्या स्वतः समाधान हुने उनीहरुको दाबी छ । – रातोपाटी

प्रकाशित : २०७८ भाद्र २३, बुधबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ