मेयर बरबरियाको मोजमस्ती : विदेश भ्रमणमा ४ लाख बढी खर्च गरेको खुलासा


जनकपुरधाम : धनुषाको एक स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सरकारको अनुमतिविनै सरकारी कोषबाटै विदेश भ्रमण गरेको पाइएको छ ।

शहीदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया यादव र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले सरकारी कोषको रकमबाट अनुमति विना एक साता दुबई भ्रमण गरेका छन् ।

यादव र झा २०७६ साल मंसिर ११ देखि २० गतेसम्म दुबई भ्रमणमा थिए । दुबई भ्रमण गर्दा यादवले २ लाख १५ हजार ५ सय ८० र झाले १ लाख ९२ हजार १ सय ४० गरी ४ लाख ७ हजार ७ सय २० रुपैयाँ खर्च गरेका छन् ।

उक्त भ्रमणमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । ‘भ्रमण खर्च नियमावली, २०६४ को नियम ३(५) अनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि पदाधिकारी वा कर्मचारी विदेश भ्रमण गर्नुपर्दा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ’ प्रतिवेदनमा भनिएको छ, ‘भ्रमणको उद्देश्य र प्रयोजन नखुलाई कार्यालय सम्बन्धित कामकाज उल्लेख गरी गरेको भ्रमण खर्च नियमित देखिएन ।’

विदेश भ्रमण गर्नुको उद्देश्य तथा काम समेत नखुलाई नगर प्रमुखबाट भ्रमण आदेश स्वीकृत गराई भ्रमण खर्च भुक्तानी गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : २०७८ भाद्र २४, बिहीबार २०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ