दोलाखा : दोलखाको भीमेश्वर नगरपालिका २ मा रहेको प्रसिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
भीमेश्वर नगरपालिका २ का वडाध्यक्ष विराजमान श्रेष्ठका अनुसार कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको भीमेश्वर मन्दिर आज सोमबारदेखि पूर्ण रुपमा सर्वसाधारणका लागि खुला गरिएको हो ।
आजदेखि सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर सर्वसाधारणका लागि मन्दिर पूर्ण रुपमा खुला गरिएको हो । अब सर्वसाधारण भक्तजनहरुले मन्दिरको शिलाको प्रत्यक्ष दर्शन गर्न पाउने भएका छन् ।
लकडाउनका कारण मन्दिर बन्द रहँदा पनि मन्दिर बाहिर पूजा गर्नेहरुको भीड नै लाग्थ्यो । मन्दिर खुल्ला रहने र दर्शन गर्नेले अनिवार्य रुपमा मास्क लगानुपर्ने वडाध्यक्ष क्षेष्ठले बताए ।
मन्दिरमा गत मंसिर ९ गते पसिना आएपछि मुलुक र जनतालाई ‘अनिष्ट नहोस् भन्दै राष्ट्रपति, भीमेश्वर मन्दिर गुठी, पूजा व्यवस्थापन समिति र सर्वसाधारणको तर्फबाट क्षमापूजा गरिएको थियो । भीमेश्वरको शिलामा पसिना आउँदा देशमा अनिष्ट हुने जनविश्वास छ ।