काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि धनुषाको क्रियाशील विवाद टुंग्याएको छ । क्रियाशील विवाद समाधान समितिले विवाद टुंगोमा पुर्याउन ९ बुँदे निर्णय गरेको छ ।
उक्त निर्णय कार्यान्वयन गर्ने जिम्वेवारी पनि बाँडफाँट भएको छ । नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले ३ असोज अर्थात् हिजो २ जिल्लाको विवादमा निर्णय गरेको हो ।
समितिमा नेता रमेश लेखक र डा. मिनेन्द्र रिजाल सदस्य छन् । निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ मा रहेको बट्श्वेर नगरपालिका वडा नम्बर ५ र क्षिरेश्वर नगरपालिका वडा नम्बर १० मा नयाँ क्रियाशील सदस्यहरुले १४ औँ महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । यी वडाहरुमा पुरानै क्रियाशील सदस्यहरुबाट अधिवेशन हुनेछ ।
यस्तै मिथिला बिहारी नगरपालिका वडा नम्बर ६, १०, लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ र २ मा वडा सभापतिहरुले सिफारिस गरेको नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय भएको छ ।
क्षेत्र र जिल्ला तहबाट थपिएका नामहरु भने १४ औं महाधिवेशन सकिएपछि प्रकृयामा जाने छ । क्षिरेश्वर नगरपालिका वडा नम्बर ७ तथा लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ मिथिला बिहारी नगरपालिका २ का साथै जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा सभापतिहरुले फर्जी भनिएका क्रियाशील हटाएर वडा सभापतिहरुले सिफारिस गरेको क्रियाशील सदस्यले मात्र १४ औँ महाधिवेशनमा भाग लिन पाउनेछन् ।
धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद रहेको थियो । डा. चन्द्रमोहन यादवसहितका नेताहरु विवादका कारण केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका थिए ।