डा. खड्का परराष्ट्र मन्त्रीमा नियुक्त, बुधवार शपथ लिने


काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । आफू नेतृत्वको सरकार गठन भएको अढाइ महिनापछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद तेस्रोपटक विस्तार गर्न लागेका हुन् ।

उनले आफ्नै दलबाट डा नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने बुझिएको छ । देउवाको नेतृत्वमा मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा डा खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको एक नेताले बताए । मन्त्री खड्काको शपथ बुधवार हुने स्रोतले जनायो ।

राष्टसंघीय महासभाको तिथि नजिकिँदै गएका बेला सत्ता गठबन्धनले त्यहाँ पठाउने गरी परराष्ट्र मन्त्रालयको नेतृत्व टुङ्गो लगाएको हो । नेपाल सार्क परिषद्को अध्यक्षसमेत भएकाले राष्ट्रसंघीय महासभामा राजनीतिक नेतृत्वको आवश्यकता महसुस गरेर गठबन्धनले परराष्ट्रमन्त्रीमा सहमति जुटाएको हो । बिहीबार नै अन्य मन्त्रीहरुको समेत टुंगो लगाउने गठबन्धनको तयारी रहेको ती नेताले बताए ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायतको सहभागीता थियो ।

प्रकाशित : २०७८ आश्विन ५, मंगलवार २२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ