पर्यटन प्रवर्द्धनका लागि मुख्यमन्त्री राउत नेतृत्वको टोली पोखरामा


पोखरा : नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) प्रदेश नं २ र नाटा गण्डकी प्रदेशको संयोजन एवं गण्डकी प्रदेश सरकारको निमन्त्रणामा प्रदेश नं २ का मुख्यमन्त्री लालवावु राउत नेतृत्वको टोली पर्यटन पुनरुत्थानका लागि आज पोखरा पुगेका छन् ।

पोखरा–सिमरा सिधा उडान सुरु भएसँगै नाटा गण्डकी प्रदेश र नाटा प्रदेश २ को संयोजनमा यस अघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री सहितको टोलीले प्रदेश नं २ को सिमरा, बीरगञ्ज लगायतका स्थानमा अवलोकन भ्रमण, अन्तरक्रियाका साथै उक्त प्रदेशका मुख्यमन्त्री सहितको टोलीलाई पोखरा भ्रमणका लागि निमन्त्रणा दिइएको थियो ।

पोखरा आएका मुख्यमन्त्री राउत सहितको टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेल, नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारी लगायतले स्वागत गरे ।

पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको भेटमा मुख्यमन्त्री राउतले कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्नु अहिलेको आवश्यकता भएको बताउँदै आन्तरिक पर्यटनका गतिविधिलाई चलायमान गराउन गण्डकी प्रदेशसँग सहकार्य गरिने बताए ।

गण्डकी प्रदेशमा धार्मिक पर्यटनका धेरै सम्भावना रहेको बताउँदै उनले यसको उजागर गर्नुपर्ने आवश्यकता औंल्याए । असोज १ गतेदेखि पोखराका पर्यटकीय गन्तव्य खुलेको सन्देश प्रवाहका लागि पनि मुख्यमन्त्री राउत सहितको उचस्तरीय भ्रमणलाई महत्वका साथ लिइएको नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी गराए ।

कोरोना कहरकाबीच सजगताका साथ पर्यटनलाई उठाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले आन्तरिक पर्यटनलाई टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।राउतले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटवार्ताका साथै पोखराका पर्यटकीय स्थलको अवलोकन एवं सरोकार वालाबीच छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कार्यकम संयोजक नाटा गण्डकी प्रदेशका महासचिव कमला गिरीले बताए ।

प्रकाशित : २०७८ आश्विन ६, बुधबार १५:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ