दुबई उड्न लागेका सिताराम १३ हजार डलरसहित पक्राउ


टुडेखोज, काठमाडौं : अबैध रुपमा विदेश लैजान खोजेको १३ हजार डलरसहित एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका २ का ४२ वर्षीय सिताराम विक रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका विक दुबई जान लागेका थिए । उनी नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९ द्वारा काठमाडौंबाट दुबई जान लागेका थिए । उनले लगाएको निलो रंगको जिन्स पाइन्टको दाहिने गोजीबाट अवैध रकम बरामद भएको प्रहरीले जनाएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेशिन नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा पाइन्टको गोजीभित्र अमेरिकी डलर १०० दरको थान १३० ले जम्मा अमेरिकी डलर १३ हजार फेला परेको थियो । लुकाई छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ रकम लान मिल्दैन । तर उनले अवैध रुपमा रकम लगिरहेका कारण पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका विकलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । विभागले उनीमाथि थप अनुसन्धान तथा कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ आश्विन ६, बुधबार १९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ