जनकपुर–जयनगर रेल चलाउन निधिले गरे प्रधानमन्त्रीलाई अनुरोध


काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायहरूलाई निर्देशन दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ भेटेर उपसभापति निधिले रेल्वे सञ्चालन र उद्घाटनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री देउवासँग निधिले नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा रेल्वे उद्घाटनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गरेका थिए ।

उनले भारत सरकारको सहयोगमा बनेको रेल्वे सञ्चालनका लागि नेपाल सरकारले इन्धन र डब्बा खरिद गरिसकेको स्मरण गराउँदै लामो समय सञ्चालनमा नआउँदा बिग्रने अवस्थामा पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कांग्रेस उपसभापति निधिका अनुसार भेटमा प्रधानमन्त्री देउवाले रेल सञ्चालनको तयारी अघि बढाउनु पर्नेमा आफू सकारात्मक भएको भन्दै तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताए ।

भारतबाट रेल खरिद गरेर ल्याएको एक वर्ष वितिसकेको छ । तर दुई सेट रेल इनर्वा स्टेशनमा थन्काएर राखेको छ । सरकारका मन्त्रीले नै पटक पटक सञ्चालनको मिति तोकेपनि अहिलेसम्म सञ्चालन नहुँदा जनकपुरबासी निरास बनेका छन् । अहिलेसम्म कर्मचारी समेत व्यवस्थापन मिलाउन सकिएको छैन ।

रेल सञ्चालनमा नआउँदा जनकपुरमा व्यवसायमा समेत असर परेको छ । रेल्वेका नयाँ प्रबन्धक निरञ्जन झाले केहिदिन अगाडी मात्रै करिब १ सय ५० ज्यालादारी कर्मचारीलाई हटाएका थिए । तत्काल रेल चल्ने अवस्था नरहेकाले कर्मचारी हटाएको उनको भनाई छ ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार १९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ