मधेसकी महिलाले आजदेखि सुरु गरिन् कठोर पर्व जितिया


जनकपुरधाम : मधेसको पवित्र ‘जितिया पर्व’ नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा स्नान गरेकी हुन् ।

स्नान पश्चात ब्रतालु महिलाहरुले घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाकी छन् । आज चढाएको तेल महिलाले सन्तानको शीरमा दलेर दिर्घायूको कामना गर्ने चलन छ ।

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ- जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन मानिन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ