जनकपुरमा सुरु भयो लोसपा संसदीय दलको बैठक


टुडेखोज, जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठक जनकपुरस्थित होटल सिटीस्टारमा सुरु भएको छ । दलका नेता चयन गर्न बैठक बसेको हो ।

लोसपा अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सुरु भएको बैठकमा बरिष्ट नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, पूर्वमन्त्री उमाशंकर अरगरिया तथा साँसदरु सहभागी छन् । उक्त बैठकमा पहिले संसदीय दलको विद्यान पारित गरिने र त्यसपछि दलका नेता चयन गरिने बताइएको छ ।

दलका नेता बन्ने दौडमा जितेन्द्र सोनल, उपेन्द्र महतो र सुरिता साह रहेको बुझिएको छ । महतो बरिष्ट नेता राजेन्द्र महतोका भतिजा हुन् । सोनल प्रदेश २ का पूर्वमन्त्री एवं तत्कालिन राजपाका संसदीय दलका नेता थिए ।

स्रोतका अनुसार दलका नेता बन्ने सम्भावना जितेन्द्र सोनलको रहेको चर्चा छ । तर सुरिता साहलाई दलको नेता बनाउनुपर्नेमा धेरै साँसद सहमत देखिएका छन् । अध्यक्ष ठाकुर भने सोनलको पक्षमा रहेको स्रोतले जनायो ।

दलका नेता चयन गर्नका लागि सोमवारकै लागि बैठक डाकिएको थियो । तर विद्यान सोमबार बाँडिए पनि बैठक औपचारिक रुपमा सुरु भएन । विद्यान अध्ययन पश्चात आज पारित गर्ने र त्यसपछि दलका नेता चयन प्रक्रिया सुरु हुनेछ ।

जसपाबाट अलग भएर लोसपा गठन गरिएको छ । प्रदेश २ मा जसपाका ५५ साँसद थिए । जसमध्ये लोसपा १६ साँसद रोजेका छन् । उनीहरुमध्ये नै एकजना दलका नेता बन्नेछन् ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार १५:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ