यादवले चिनियाँ राष्ट्रपतिको फोटो जलाए, प्रहरीले बुट बजारे !


काठमाडौं : चीनविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।

अभियानले माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिङपिङको फोटो जलाए । अभियानका केन्द्रीय संयोजक विनय यादवले चिनियाँ राष्ट्रपति चिङपिङको फोटो जलाउदा प्रहरीले हस्तक्षेप गरेका थिए । सोक्रममा प्रहरीले फोटोलाई बुटले कुल्चेको देखिएको छ ।

मिचिएको नेपाली भूमि यथाशीघ्र फिर्ता गर्नुपर्ने अभियानको माग छ । संयोजक यादवले भने, ‘चीनको नेपालमाथि जाहिले पनि गिद्ध कुदृष्टि रहेकोले चीनको राष्टपतिको आज पुतला दहन गरिएको हो र अब उपरान्त चीनले हाम्रो भूमि फिर्ता गरेन भने देश भरी चीनको विरुद्धमा हामी आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

प्रदर्शनको क्रममा सहभागीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर र अघोषित नाकाबन्दी खुला गर भन्दै चीनविरुद्ध नारा लगाएका थिए । प्रदर्शनमा हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रका जनताहरुको पनि सहभागिता समेत रहेको थियो ।

सिन्धुपाल्चोकको खराने खोला ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, त्यसतै संखुवासभा सुमजुँग खोलामा ३ हेक्टर, कामखोलामा २ हेक्टर र अरुण खोलामा ४ हेक्टर जग्गा चीनसँग सीमा समस्या छ । प्रतिवेदन अनुसार नदी वहाव परिवर्तनका कारण नेपालको भूभाग चीनमा परेको हो ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ