भक्तजनले मन्दिरमा चढाइएका घण्टहरु कवाडमा बेचेपछि…


कञ्चनपुर : कञ्चनपुरको सिद्धनाथ मन्दिरमा भक्तजनले चढाएका घण्टहरु मन्दिर समितिले बिक्री गरेर आर्थिक व्यवस्थापन गर्ने गरेको पाइएको छ । भक्तजनले आस्थाका साथ मन्दिरमा चढाएका घण्टहरु कवाडमा बिक्री गरेको भन्दै आलोचना शुरु भएको हो ।

हिन्दू धर्म अनुसार देवीदेवताका मन्दिरमा चढाइएका कुनैपनि वस्तुलाई संरक्षण गर्नु त्यहाँको व्यवस्थापन पक्षको जिम्मेवारी हो । नेपालमा त मन्दिरमा चढाइएका कुनैपनि वस्तुलाई आर्थिक लाभका लागि प्रयोग गर्नु पाप मानिन्छ । तर, धर्म संस्कृतिको रक्षाका लागि काम गरिरहेको भन्नेहरुले नै मन्दिरमा चढाइएका घण्ट कवाडमा बिक्री गर्दै आएको पाइएको छ ।

कञ्चनपुरको सिद्धनाथ मन्दिरमा वर्षौदेखि भक्तजनले चढाएका पुरातात्विक महत्वका पुराना घण्टहरु बेचेर आर्थिक संकलन गर्ने गरेको तथ्य फेला परेको छ । कञ्चनपुरका प्रतिष्ठित व्यापारीको पसलमा मन्दिरबाट बेचिएका पुराना घण्टहरु टल्काएर नयाँ बनाइदै छ भन्ने सूचनाका आधारमा प्रहरीले महेन्द्रनगरस्थित एक भाडा पसलमा छापा मार्दा ६ क्वीन्टल पुराना घण्टहरु फेला परेको सिद्धनाथ मन्दिर विकास समितिका अध्यक्ष हिक्मतसिंह भण्डारीले बताउनुभयो ।

मन्दिरमा रहेका पुराना घण्ट तथा चाँदीलाई मन्दिरमै व्यवस्थापन हुने गरि पुनर्निर्माण गरिने प्रावधान विगतका दिनदेखि नै रहँदै आएको मन्दिर व्यवस्थापन समितिका पूर्वउपाध्यक्ष भवानीसिंह बोहराले बताएका छन् । यता, व्यापारी पदमसिंह ठकुराठीले भने मन्दिर व्यवस्थापन समितिले कवाड भन्दै बिक्री गरेका घण्ट तथा चाँदी रीतपूर्वक किनेको दाबी गरेका छन् ।

प्रत्येक वर्ष फागूपुर्णिमाको दोस्रो दिनबाट शुरु हुने पूर्णागिरीको मेलाको समयमा लाखौंको संख्यामा नेपाल तथा भारतबाट आउने दर्शनार्थीहरुले मन्दिरमा भेटी तथा घण्ट त्रिशुल लगायतका सामग्री चढाउने गर्दछन् । – जनता समाचार

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ