महोत्तरी : कार्यकाल सकिनै लाग्दा एक वडाको मतगणना पुनः गर्न अदालतको आदेश


जनकपुरधाम : स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा महोत्तरीको एक नगरपालिकाको वडामा पुनः मतगणना हुने भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिकाको एक वडामा अदालतले पुनः मतगणना गर्न आदेश दिएको हो ।

पाँच वर्षे कार्यकालमा चार वर्ष बितिसकेको अवस्थामा जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्च अदालतले ४ वर्ष पश्चात् सदर गरेको हो ।

सर्वोच्चको आदेशानुसार विवादित विषयको दोर्होयाएर मतगणना गर्न आगामी ०७८ कात्तिक ७ मा बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ । ०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ०७८ असोज ८ मा नतिजा प्रकाशित गरियो । तत्कालीन राजपाबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले क्रमश ६७/६७ मत प्राप्त गरे ।

दुबै उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट अरुण चौधरी निर्वाचित भए । निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ मा १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो ।

उच्च अदालतको सो आदेशपछि चौधरी सर्वोच्च पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ मा उच्च अदालत जनकपुरको आदेशलाई सदर गर्‍यो । त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन ।

अन्ततः दोर्होयाएर मतगणना गर्न आगामी ०७८ कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ । ०७४ असोजमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिका १० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ