जसपा गुटबन्दीमा मुख्यमन्त्री गद्दी र मन्त्री साह सकृय, भोजमा लाखौ खर्च


जनकपुरधाम : प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा गुटबन्दी चरममा पुगेको छ । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी, अर्थमन्त्री शैलेन्द्र साह लगायतले सरकार र पार्टीमा एकसाथ गुटबन्दी थालेका छन् ।

प्रदेश २ का अध्यक्ष विजय कुमार यादवलाई अपदस्थ गर्न मुख्यमन्त्री गद्दीले अर्थमन्त्री साहलाई अगाडी सारेर भोजको नाउँमा गुटको भेला आयोजना गरेकोमा केन्द्रिय कमिटी बैठकमा त्यसको चर्को आलोचना भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्रदेश सरकारका मुख्यमन्त्री राउतले साह मार्फत भेला आयोजनागरि प्रदेश अध्यक्ष यादवलाई हटाउने वातावरण बनाएको उल्लेखगर्दै केन्द्रिय कमिटी बैठकमा बिरोध भएको छ ।

धनुषा जिल्लाको ढल्केवरको पोखरीया घाटमा प्रदेश कमिटीका सदस्य लगायत केहि केन्द्रिय कमिटी सदस्यहरुको उपस्थिति रहेको सो भेलामा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव निजी सचिवालय समेतको सहभागिता थियो । मुख्यमन्त्री गद्दी सो भेलामा सशरिर उपस्थित नरहेपनि उनका निकट मानिने जसपाका नेता, कार्यकर्ताहरुको सकृय सहभागिता रहेको थियो ।

बैठकमा प्रदेश अध्यक्ष यादवलाई विस्थापितगरि अर्थमन्त्री साहलाई ल्याउने सहमति भएको समेत केन्द्रिय कमिटी बैठकमा सहभागि सदस्यहरुले उठाएका थिए । राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेताहरु महेन्द्र यादव, राजकिसोर यादव लगायतको सहभागिता रहेको सो बैठकमा सहभागिहरुले गुटबन्दी गर्नेमाथि कार्वाहीको माग गरे ।

पूर्व राजपा लगायत अन्य दलहरुबाट जसपामा समाहित भएका नेता, कार्यकर्ताहरुलाई क्षमता अनुसारको पदमा राखिने सहमति भएको छ ।बैठकका एकजना सहभागिका अनुसार असोज १९ गते प्रदेश कमिटी समायोजनको घोषणा राष्ट्रिय अध्यक्ष यादवले गर्ने छन् ।

स्रोतहरुका अनुसार पूर्व राजपाले प्रदेश कमिटीमा पठाउने नेताहरुको सुची तयार गर्न नसकेकाले घोषणामा ढिलाई भएको हो । मंगलवारको केन्द्रिय कमिटी बैठकमा समायोजनको घोषणा हुने कार्यक्रम थियो । प्रदेश कमिटीको बैठक आइतवार बस्नु अगावै मुख्यमन्त्री गद्दी र अर्थमन्त्री साह लगायतका नेताहरुले गुट खडागरि समायोजनमा भाँडभैलो मच्चाउने योजना बनाएका थिए । तर राष्ट्रिय अध्यक्ष यादव स्वयं बैठकमा प्रमुख अतिथि रहेकाले गुटको भेलामा सहभागिहरु बैठकमा मुख खोल्न चाहेनन् ।

हुनत पोखरीया भेलामा राष्ट्रिय अध्यक्ष यादव लोकतान्त्रिक पद्धतीलाई अनुशरण नगरेको आरोप लगाइएको थियो ।पर्सा जिल्लाका अध्यक्ष त्यसमा अगाडी थिए । सहभागिहरुका अनुसार बैठकको आयोजनाका लागि आर्थिक भार मुख्यमन्त्री गद्दीले वहन गरेका थिए ।बैठकमा मासु र मदिरा समेतको प्रबन्ध गरिएको थियो । – जनकपुर टुडे

प्रकाशित : २०७८ आश्विन १३, बुधबार ०७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ