मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा प्रकरण : जसपाद्वारा आन्दोलनको घोषणा


जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मारेको विरुद्ध सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ ।

जसपा मधेस प्रदेश समितिका मुख्य सचिव शम्भू झाले विज्ञप्ती जारी गरेर आन्दोलनको घोषणा गरेका हुन् । उनले प्रदेश २ का आठै जिल्लाका सदरमुकामहरुमा असोज १६ गते मशाल जुलुस र १७ गते बृहत विरोध प्रदर्शन गर्ने गरेका छन् । आन्दोलनमा सहभागी हुन नेता कार्यकर्तालाई आह्वान समेत गरिएको छ ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा बेटी बचाउ, बेटी पढाउ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै अघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशपूर्ण रहेको छ ।’

अख्तियारको टोलीले छापामार शैलीमा छापा मार्नुलाई अमर्यादित र विद्धेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण रहेको ठहर जसपाले गरेको छ । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोक कल्इाणकारी कार्याहरुमा प्रतिकुल असर पर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।

बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको थियो । बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भन्ने उजुरी परेकाले सो सम्बन्धि कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले छापा मारेलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका थिए । संघीयता समाप्त पार्ने षड्यन्त्र र प्रदेश सरकारलाई बदनाम गर्न छापा मारिएको उनको भनाई थियो । जसपाले आन्दोलनको घोषणा गरेपनि सत्तारुढ नेपाली काँग्रेस र माओवादी केन्द्र यस विषयमा मौन देखिन्छ ।

प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार २०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ