गौतमबुद्ध विमानस्थलमा राख्न साढे २ अर्बको बुद्धमूर्ति म्यान्मारबाट ल्याइदै


बार्सिलोना : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो ।

‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो,’ फाउन्डेसनका महासचिव गिरीले भने ।

गिरिका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।’ बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको हो,’ उनले भने । कागाजी प्रक्रिया मिलाएर दुई साताभित्र बुद्धमूर्ति नेपाल आइपुग्ने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले बुद्धमूर्ति अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा दिएको छ । बिहिबार फाउन्डेसनका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटवार्ता गर्दै निमन्त्रणा दिएका हुन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको कार्तिक १४ मा अनावरण गरिने कार्यक्रम रहेको छ ।

‘फाउन्डेसनले नेपाल र विशेष गरी लुम्बिनीको सेरोफेरोमा गर्न खोजेका कामहरू लगायत विविध गतिविधि बारेमा राष्ट्रपतिलाई जानकारी दियौं । उहाँले नेपालका लागि काम गरेकोमा खुशी व्यक्त गर्दै धन्यबाद दिनुभयो,’ फाउन्डेसनका महासचिव एकराज गिरीले भने ।

बुद्वको शान्ति सन्देशलाई संसारभर फैलाउने फाउन्डेसनको अभियानलाई राष्ट्रपतिले मुक्तकण्ठले प्रंशसा गरेको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गार्डेन फाउन्डेसनका गतिविधिबारे चासो व्यक्त गरेकी छिन् । स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा बन्ने लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति भण्डारी चासो व्यक्त गरेकी हुन् ।

लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारेको छ । राष्ट्रपतिसँगको भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद सूर्य पाठक,फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा,उपाध्यक्ष गोविन्द सुबेदीलगायतको उपस्थिति रहेको थियो । – अनलाइनखबर

प्रकाशित : २०७८ आश्विन १६, शनिबार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ