रौतहटमा ट्रकको ठक्करबाट जनज्योति क्याम्पस स्ववियू पूर्वसचिवको मृत्यु


गौर : रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत चाँदी-वाग्मती खण्डमा भारतीय मालवाहक ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति ९ बजे चाँदीपुलनजिक पूर्वबाट आउँदै गरेको यूपी ३५ एटी ४२७३ नम्बरको भारतीय मालवाहक ट्रकको ठक्करबाट चन्द्रपुर २ जुडिबेला घर भएका ३७ वर्षीय सोनालाल चौधरीको मृत्यु भएको हो । राति ना ३५ प १८९३ नम्बरको मोटरसाइकल चढेर घर जादै गर्दा बाटोमा ट्रकले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए ।

तत्कालै उपचारका लागि स्थानीय एपोलो सिटी अस्पताल लगिएकोमा चौधरीको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो । ठक्कर दिएलगत्तै ट्रक सहित चालक भागेको इलाकाका डीएसपी लीलाराज लामिछानेले बताए । ‘हामीले पिछा गरेर ट्रक बाराको निजगढ बजारबाट नियन्त्रणमा लिएका हौँ,’ उनले भने, ‘घटनाको अनुसन्धान हुँदैछ ।’

चौधरीलाई ठक्कर दिएर भागेको ट्रकका चालक भारत उत्तर प्रदेशका ३२ वर्षीय चालक सर्भेष कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक चौधरी कांग्रेसका स्थानीय युवा नेता र जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका स्ववियूको पूर्व सहसचिवसमेत हुन् । उनी विभिन्न सामाजिक संघ संस्थासँग आबद्ध पनि थिए ।

प्रकाशित : २०७८ आश्विन १६, शनिबार १६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ