जसपाको मशाल जुलुस : अख्तियार प्रमुख राइको राजीनामा माग


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का आठै जिल्लामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले आज साँझ मशाल जुलुस निकालेका छन् । मशाल जुलुसमा सहभागीहरुले अख्तियार प्रमुख प्रेमकुमार राइको राजीनामा समेत मागेका हुन् ।

बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेका थियो । छापामार शैलीमा अख्तियारले छापा मारेको भन्दै त्यसको विरुद्धमा सत्तारुढ जसपा मधेस प्रदेश समितिले आह्वान गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज साँझ मशाल जुलुस निकालिएको छ ।

दिउँसो साढे ४ बजे नै प्रदेश २ का आठै जिल्लामा मशाल जुलुस निकाल्ने कार्यक्रम थियो । तर वर्षाका कारण करिब जनकपुरमा साढे ६ बजे मशाल जुलुस निकालियो । मशाल जुलुसमा सहभागीहरुले ओलीका गुण्’डा अख्तियार प्रमुख मुर्दाबाद, मधेस विरोधी अख्तियार मुर्दावाद जस्ता नारा लगाए ।

अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा छापा मारेपछि प्रमुख सत्तारुढ जसपाका नेताहरु आक्रोशित बनेका छन् । तर प्रदेश २ सरकारमै सहभागी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र भने मौन देखिएको छ ।

भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री लालबाबु राउत तनावमा छन् । सामाजिक सञ्जालमा मुख्यमन्त्री राउतको राजीनामा माग्नेको संख्या बढ्न थालेको छ । राष्ट्रिय एकता अभियानका राष्ट्रिय संयोजक बिनय यादवले पनि मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

प्रकाशित : २०७८ आश्विन १६, शनिबार १९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ