प्रदेश २ : लोकसेवा आयोगले दोस्रो बार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाए


टुडेखोज, जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोगले आफ्नो दोस्रो बार्षिक प्रतिबेदन आज प्रदेश प्रमुख हरिशंकर मिश्रलाई हस्तान्तरण गरेको छ । लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले प्रदेश प्रमुख मिश्रलाई बार्षिक प्रतिवेदन बुझाएका हुन् ।

कर्मचारीको अभाव भएपनि गत वर्ष विभिन्न सेवा र विभिन्न तहका पदका लागि ८५ वटा पाठ्यक्रमहरु निर्माण गरेको आयोगका अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेको छ । तर हाल काजका ६ जना र करारका ५ जना कर्मचारी मात्र छन् । कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या भइरहेको छ ।

आयोगले गत वर्ष बढुवा, अन्तरसेवा तथा खुल्ला र समावेशी गरी कुल १ सय ६५ वटा विज्ञापनहरुबाट २ सय ७२ पदको लागि विज्ञापन प्रकाशित गरेको छ । जसमा बढुवातर्फ १ सय १३ पद, अन्तरसेवातर्फ १४, खुल्लातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदको लागि विज्ञापन गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले गत वर्षको फागुन २२ र २९ गते सञ्चालन गरेको अधिकृत सातौ तह इन्जिनियरिङ सेवाका २ हजार ३४८ जना परीक्षार्थीको लागि परीक्षा सञ्चालन गर्दा १ हजार ९६ जना परीक्षार्थीहरु सहभागि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ