टुडेखोज, जनकपुरधाम : महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका ५ का मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडी सवार भङ्गहा नगरपालिका ७ का १८ वर्षीया विन्दाकुमारी साह रहेकी छन् । जलेश्वर नगरपालिका ८ बजराही गाउँको भित्री सडकबाट नम्बर नरहेको ग्ल्यामर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा १० लाख ४ हजार ५ सयसहित उनी दुबै जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रकम बोकी दुवै जना मनरासिस्वा नगरपालिका ५ कटैया गाउँबाट धनुषाको जनकपुर जाँदै गरेको अवस्थामा प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरु रकमसहित पक्राउ परेका छन् ।
पक्राउ परेका दुवैलाई रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।