भारतलाई हराएर पाकिस्तानले रच्यो इतिहोस, कहिले कसलाई हरायो ? पुरा डिटेल


काठमाडौं : आइसिसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानले भारतलाई हराएको छ । आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको हो ।

विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलोपटक हो । यसअघि भारतविरुद्ध एकदिवसीय र टी-२० विश्वकपमा खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो । सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि जित हात पारेको हो ।

आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७.५ ओभरमा पूरा गर्‍यो । पाकिस्तानका लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउट ६८ रन जोडे । रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो । भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे । उनले ५७ रन जोडे । साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनरद्वय केएल राहुल र रोहित शर्मा सस्तैमा आउट भए । राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए । दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले सिकार बनाएका थिए । सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे । रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए । रवीन्द्र जडेजाले १३ रन जोडे । हार्दिक पाण्ड्या ११ रनमा आउट भए ।

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दा ३० रन खर्चिए । हसन अलीले २ विकेट हात पारे । उनले ४४ रन खर्चिएका थिए । यस्तै शादब खान र हरिस राउफले १/१ विकेट हात पारे ।

यसअघि भारत र पाकिस्तानबीचको विश्वकपको नतिजा :
टी-२० विश्वकप
२००७ – भारतद्वारा पाकिस्तान बलआउट (खेल बराबरी भएको)मा पराजित
२००७ – भारतद्वारा पाकिस्तान ५ रनले पराजित (फाइनल)
२०१२ – भारतद्वारा पाकिस्तान ८ विकेटले पराजित
२०१४ – भारतद्वारा पाकिस्तान ७ विकेटले पराजित
२०१६ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित

एकदिवसीय विश्वकप
१९९२ – भारतद्वारा पाकिस्तान ४३ रनले पराजित
१९९६ – भारतद्वारा पाकिस्तान ३९ रनले पराजित
१९९९ – भारतद्वारा पाकिस्तान ४७ रनले पराजित
२००३ – भारतद्वारा पाकिस्तान ६ विकेटले पराजित
२०११ – भारतद्वारा पाकिस्तान २७ रनले पराजित
२०१५ – भारतद्वारा पाकिस्तान ७६ रनले पराजित
२०१९ – भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

प्रकाशित : २०७८ कार्तिक ८, सोमबार ०७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ