भारतको बिहारमा भेटियो लालूको शव


राजविराज । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा बेपत्ता भएका सप्तरीका एक युवाको नौ दिनपछि भारतको बिहारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिता खोलामा आएको बाढीले कात्तिक ३ गते बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षीय लालु भन्ने दिपेन्द्र मण्डलको शव बिहीबार भेटिएको हो । मण्डलको शव दिउँसो १ बजेतिर सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपंचायत १० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको प्रहरीले बताए ।

तिहार र छठ पर्वका लागि भारतीय बजार कुनौलीबाट किनमेल गरि फर्किदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जिर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको थियो । घटनास्थल र आसपास क्षेत्रमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरेपनि फेला परेको थिएन् ।

भारतीय क्षेत्रमा मण्डलको शव भेटिएको जानकारी आएपछि भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि शव पीडित परिवारको जिम्मा लगाइएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक १२, शुक्रबार ०७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ