Breaking- सवारी लाइसेन्सको अनलाइन आवेदन पुनः सुचारु


काठमाडौं । सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन दुई दिन सेवा अवरुद्ध भएपछि आजदेखि पुनः सञ्चालनमा आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कोरोना महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाले प्रभावित बनेको यो सेवा यसै साताको सोमवारबाट खुलेको थियो । सेवा सञ्चालनमा आएकै दिन १५ लाख जनाले विभागको वेबसाइट खोलेको र धेरै जनाले एकैपटक अनलाइन आवेदन भर्न खोज्दा प्रणालीमा समस्या आएको थियो ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार आज बेलुकादेखि सेवा पुनः सुरु भएको हो । उनले भने, ‘अनलाइन आवेदन पाँच–छ महिनापछि सुरु भयो अनि धेरै सेवाग्राहीले एकैपटक एक्सेस गर्दा दुई दिनसम्मका लागि समस्या भयो ।’

आवेदन खुलेको २४ घण्टाभित्रै एक लाखभन्दा बढीले अनलाइन आवेदन भरेको देखिएको विभागले जनाएको छ । लामो समयसम्म वितरण रोकिएकाले अहिले देशभरिबाट करिब १० लाख जनाले सवारीसाधन चालक अनुमतिपत्र लिन खोजेको विभागले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १३, शनिबार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ