मुख्यमन्त्री कार्यालयद्वारा विवादित बेटी पढाउ बेटी बचाउ र स्वच्छता कार्यक्रम सामाजिकलाई हस्तान्तरण


जनकपुर । प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफूले सञ्चालन गर्दै आएको ‘विवादित’ कार्यक्रम अर्को मन्त्रालयलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री कार्यालयले बेटी पढाउ, बेटी बचाउ र स्वच्छता अभियान कार्यक्रम सामाजिक विकास मन्त्रालयलाई दिएको हो ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुवै कार्यक्रम सामाजिक विकास मन्त्रालयको मातहतमा ल्याउने निर्णय गरेको हो । निर्णय प्रमाणीकरण हुन बाँकी रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । केही प्राविधिक काम बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामप्रसाद भुसालले बताए ।

बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितताको आशंका गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै आएको छ । अख्तियारले छापा मारेपछि ती कार्यक्रम सामाजिक विकास मन्त्रालयलाई सञ्चालन गर्न दिने प्रदेश सरकारले निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्रालयबाट दुबै अभियान सञ्चालन गर्न आवश्यक पर्ने विधि प्रक्रिया निर्माणको क्रममा छ । त्यसका लागि प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई जिम्मेवारी तोकिएको छ । अभियान सञ्चालन र अभियानसँग सम्बन्धित कर्मचारी पनि सामाजिक विकास मन्त्रालयको मातहतमा राख्ने तयारी गरिएको छ । कार्यक्रम सञ्चालन गर्ने निकाय परिवर्तन गर्न मुख्यमन्त्री लालबाबु राउतले प्रस्ताव गरेका थिए ।

मुख्यमन्त्री राउतले प्रदेशका कक्षा ८ मा पढ्ने छात्राहरूलाई विद्यालय पठाउन उत्प्रेरित गर्ने गरी बेटी पढाउ, बेटी बचाउ कार्यक्रम ल्याएका थिए । त्यसअन्तर्गत साइकल खरिद र वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले असोज १३ मा मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

प्रदेश सरकारले ०७५ मंसिरबाट उक्त कार्यक्रम सुरु गरेको थियो । प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्वका क्षेत्र, पोखरी, सरकारी कार्यालय र सार्वजनिक स्थलको मर्मतसम्भार र स्वच्छता कार्यक्रम पनि विवादमा परेको छ । बजेटअनुसार काम नभएको र कार्यकर्तामुखी योजना छनोट गरिएको स्थानीयको गुनासो छ । – कान्तिपुर

प्रकाशित : २०७८ कार्तिक १३, शनिबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ